काठमाडौं, भदौ १९। नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजनामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम तथा सङ्गीतसम्बन्धी चर्चा–परिचर्चा कार्यक्रमअन्तर्गत ‘वी विल राइज अगेन’ (We Will Rise Again) नामक डकुमेन्ट्री प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सङ्ग्रहालयमा शुक्रबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म आयोजित कार्यक्रममा करिब ४० मिनेट लामो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि सहभागीहरूबीच डकुमेन्ट्रीको विषयवस्तु, नेपाली लोकसङ्गीत तथा लोकसंस्कृतिको संरक्षण, अभिलेखीकरण, डिजिटलाइजेसन, शैक्षिक प्रयोग तथा नयाँ पुस्तासम्म यसको पहुँच विस्तार गर्ने विषयमा छलफल गरिएको थियो।
‘वी विल राइज अगेन’ ले २०७२ सालको भूकम्पपछि नेपाली लोकबाजा सङ्ग्रहालयले भोगेको कठिन अवस्था, सांस्कृतिक सामग्रीको संरक्षणका क्रममा आइपरेका चुनौती तथा पुनःउत्थानका प्रयासलाई प्रस्तुत गरेको छ। साथै सङ्ग्रहालयले विगत तीन दशकभन्दा लामो समयदेखि गर्दै आएको लोकबाजा तथा लोकसङ्गीतसम्बन्धी अध्ययन, अनुसन्धान, फिल्डमा पुगेर बाजा तथा लोकभाका सङ्कलन, अभिलेखीकरण, डाटाबेस निर्माण र श्रव्यदृश्य सामग्री उत्पादनका गतिविधिलाई पनि डकुमेन्ट्रीमा समेटिएको छ।
नेपालका विभिन्न भूगोल तथा समुदायमा पुगेर सङ्कलन गरिएका लोकबाजा, लोकगीत, लोकभाका तथा लोकनृत्यको संरक्षणसँगै अडियो एल्बम, भिडियो एल्बम तथा डीभीडी निर्माण, पुराना श्रव्यदृश्य सामग्रीको मर्मत, डिजिटलाइजेसन र आर्काइभिङका कामलाई पनि डकुमेन्ट्रीले समेटेको छ। त्यसैगरी सङ्ग्रहालयमा सङ्गीत तथा संस्कृतिसम्बन्धी पुस्तकहरूको सङ्कलन र प्रदर्शन, विभिन्न लोकनृत्यको अभिलेख निर्माण तथा रेडियो कार्यक्रममार्फत लोकसङ्गीतको प्रचार–प्रसार गर्दै आएको पक्षलाई समेत प्रस्तुत गरिएको छ।
डकुमेन्ट्री प्रदर्शनपछि पुनरावेदन अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीले डकुमेन्ट्रीलाई अझ प्रभावकारी बनाउन छुटेका महत्वपूर्ण विषय समेट्नुपर्ने सुझाव दिनुभयो। उहाँले डकुमेन्ट्रीलाई नेपाली र अंग्रेजी दुवै भाषाको सबटाइटलसहित तयार गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शक, विद्यार्थी र अनुसन्धानकर्ताका लागि अझ उपयोगी हुने बताउनुभयो।
पद्मकन्या क्याम्पसका प्राचार्य रूपकमल क्षेत्रीले डकुमेन्ट्रीलाई शैक्षिक प्रयोजनका लागि अझ उपयोगी बनाउन विषयवस्तुको पृष्ठभूमि र आवश्यक व्याख्या थप गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नेपाली विश्वविद्यालय तथा क्याम्पसका सङ्गीतसम्बन्धी पाठ्यक्रममा लोकसङ्गीत र लोकबाजाको अध्ययन पर्याप्त रूपमा समावेश नभएको उल्लेख गर्दै यस्ता अभिलेखीय सामग्रीलाई शिक्षण–सिकाइमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
लोकसङ्गीत, लोकबाजा, लोकनृत्य, नेपाली संस्कृति, धर्म, सम्प्रदाय तथा भौतिक र अभौतिक सांस्कृतिक सम्पदाको व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको उहाँको भनाइ थियो। पाठ्यक्रम विकाससँग सम्बन्धित निकाय तथा शैक्षिक संस्थासँग संवाद र अन्तरक्रिया गरी नेपाली लोकसङ्गीत तथा लोकसंस्कृतिका सामग्रीलाई पाठ्यक्रममा समावेश गर्न पहल गर्नुपर्ने सुझाव पनि कार्यक्रममा आएको थियो।
त्यस्तै संस्कृतिसम्बन्धी अध्ययन तथा श्रव्यदृश्य सामग्रीमा अनुसन्धान गर्दै आउनुभएका सुमंगल मोहन मिश्रले सङ्ग्रहालयमा रहेका श्रव्यदृश्य सामग्रीलाई अझ व्यवस्थित र प्राविधिक रूपमा गुणस्तरीय बनाएर संरक्षण गर्नुपर्ने बताउनुभयो। करिब दुई घण्टा चलेको कार्यक्रममा डकुमेन्ट्री प्रदर्शनसँगै सहभागीहरूको प्रतिक्रिया, सुझाव तथा प्रश्नोत्तरसमेत गरिएको थियो। प्राप्त सुझावका आधारमा ‘वी विल राइज अगेन’ लाई थप परिमार्जन गरी अझ प्रभावकारी, अनुसन्धानमूलक, शैक्षिक तथा अन्तर्राष्ट्रिय दर्शकका लागि उपयोगी श्रव्यदृश्य सामग्रीका रूपमा विकास गर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।
