अहिलेको नेपाल नबनेको कि बनाउन नखोजिएको ?

नेपाल सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक दृष्टिले सु-सम्पन्न मुलुक हो। तथापि तीनवटै भू-आकृति (हिमाल, पहाड र तराई) को अनुपम मिश्रण, विविध जातजाति र भाषाभाषीको साझा अस्तित्व तथा गौरवपूर्ण ऐतिहासिक पृष्ठभूमि बोकेको यो देशमा आज कताकता एकप्रकारको निराशा, असन्तोष र अराजकताको वातावरण छाएको छ। गाउँदेखि सहरसम्म, सडकदेखि सदनसम्म अनि विद्यालयदेखि विश्वविद्यालयसम्म सर्वत्र एकै प्रकारको गुनासो सुनिन्छ, “देश बिग्रियो, देश बनेन, अब केही हुनेवाला छैन।” तर वास्तवमै नेपाल बिग्रिएको हो त ? कि हामी नागरिक, नेताहरू र सम्पूर्ण व्यवस्थाले मिलेर यसलाई बनाउने कोसिस नै नगरेका हौँ ? सरसर्ती हेर्दा यो सतही जस्तो देखिए पनि यस प्रश्नले हरेक जिम्मेवार नागरिकको मथिङ्गल हल्लाइदिन्छ।

मुलुक बिग्रिएको भन्नु जति सजिलो छ, त्यस बिग्रिएको अवस्थालाई बनाउने, सुधार गर्ने वा पुनःस्थापना गर्ने प्रयास किन भइरहेको छैन ? हामी किन केवल दोषारोपणमै सीमित छौँ ? किन समाधानतर्फ जान सकिरहेका छैनौँ ? आजको नेपालको अवस्थालाई मूल्याङ्कन गर्दा थुप्रै तहमा थुप्रै समस्या देखिन्छन्। राजनीतिक अस्थिरता, आर्थिक मन्दी, सामाजिक ध्रुवीकरण, गिर्दो शैक्षिक गुणस्तर, श्रमशक्तिको पलायन तथा मूल्य–मान्यता र नैतिकतामा विचलन र ह्रास। तर ती सबै समस्या समाधानयोग्य पनि त छन्, यदि हामीमा बनाउने इच्छाशक्ति मात्र हुने हो भने।

वर्तमान राजनीति र नेतृत्वमाथि प्रश्न

नेपालको राजनीति अहिले व्यक्तिकेन्द्रित, अवसरवादी र स्वार्थले भरिएको देखिन्छ। नेतृत्वमा जवाफदेहिता होइन, सत्तालिप्सा हावी छ। नेतृत्ववर्ग सिद्धान्तभन्दा पदलोलुपतामा रमाइरहेका छन्। राजनीतिक स्थायित्व नभएकै कारण नीतिगत अस्पष्टता छ र विकासका दीर्घकालीन योजनाहरू बीचमै अधुरै रहेका छन्। स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्वले जनताको सेवाभन्दा पनि आफ्ना नजिकका कार्यकर्ता वा आफन्तलाई लाभ दिलाउने मानसिकता बनाएको छ।

रोचक कुरा त के छ भने, हाल करिब दुई तिहाइ बहुमत बोकेको सरकार सत्तामा भए तापनि नागरिकले सुशासनको प्रत्याभूति गर्न सकेका छैनन्। बहुमतले स्थिरता दिनुपर्ने हो, नीति क्षमता बढाउनुपर्ने हो तर व्यवहारमा त्यो देखिएको छैन। हाल देशका अति संवेदनशील क्षेत्रहरू न्यायालय, सुरक्षा निकाय तथा पत्रकारिता क्षेत्रमाथि भएको हस्तक्षेप यसको ज्वलन्त उदाहरण हो। आपूर्ति व्यवस्थापन जस्तो साधारण प्रशासनिक जिम्मेवारीसमेत सहज बन्न सकेको छैन र सर्वसाधारणले दैनिक आवश्यकताका लागि समेत लाइन बस्नुपर्ने बाध्यता छ। अत्यावश्यक वस्तु तथा सेवामा समेत करको दरमा सर्वसाधारणले अनावश्यक बोझ बोक्नुपरेको तितो यथार्थ छर्लङ्ग भएको छ।

यसले के देखाउँछ भने समस्या केवल संख्यात्मक बहुमतको अभाव होइन, नियत र कार्यान्वयन क्षमताको हो। बहुमत हुँदाहुँदै पनि नीति कार्यान्वयनमा शिथिलता, समन्वयको कमी, जवाफदेहिताको अभाव तथा कथित जिम्मेवार व्यक्तिहरूबाट नै “तपाईंको भोट फिर्ता लैजानुस्” भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति आउनु भनेको चिन्ताको विषय हो। त्यसैगरी सत्तामा पुगेपछि जनताप्रतिको प्रतिबद्धता किन कमजोर बन्दै जान्छ भन्ने गम्भीर प्रश्न पनि हो। बहुमत आफैँमा सुशासनको ग्यारेन्टी होइन, यो त नियत, योजना र कार्यान्वयनको इच्छाशक्तिको संयोजनसमेत हो।

तर प्रश्न उठ्छ, के यो नेतृत्वको मात्रै दोष हो ? कि हामीले नै विगतका चुनावहरूमा मूल्य, नीति र कार्यक्षमताको आधारमा नभई राजनीतिक दल, जात, धर्म, भावनात्मक नारा र क्षणिक लालचको आधारमा मत दिएकै कारण यस्ता पात्रहरू शासनमा पुगेका हुन् ? यदि हामी बनाउन चाहन्थ्यौँ भने योग्य, इमानदार र कर्मशील व्यक्तिलाई अगाडि ल्याउने कोसिस गर्नु पर्दैनथ्यो ? यहाँ दोष राजनीतिक नेतृत्वलाई मात्र दिएर पुग्दैन। नेतृत्व छनोटको सवालमा हामी सचेत हुनु आवश्यक र अनिवार्य पनि छ।

युवा पलायन र देशको अर्थतन्त्र

नेपालको अर्थतन्त्र कृषिमा आधारित भनिए तापनि बहुसङ्ख्यक मानिसहरूले भरपर्दो, व्यावसायिक र उत्पादनमुखी कृषि प्रणाली अवलम्बन गरेको देखिँदैन। निर्वाहमुखी कृषि प्रणालीले आर्थिक अवस्थामा सुधार आउन सक्दैन। अधिकांश युवाशक्ति वैदेशिक रोजगारीमा छन्। शिक्षित युवाहरू समेत नेपालमा अवसर नपाएको गुनासो गर्दै विदेश पलायन भइरहेका छन्। देशभित्र रोजगारी सिर्जना गर्ने उद्योगधन्दा, लगानीको वातावरण र प्रविधिको अभाव तथा बजारको अनिश्चितताका कारण निजी क्षेत्रको व्यावसायिक विस्तारसमेत कमजोर देखिन्छ। समग्रमा भन्दा देशको अर्थतन्त्रले ओरालो यात्रा तय गरिरहेको छ।

तर फेरि प्रश्न उठ्छ। के हामी देश बनाउने बाटोमा लाग्यौँ ? देशमै अवसर सिर्जना गर्ने, कृषि, पर्यटन, सूचना प्रविधि वा अन्य क्षेत्रहरूमा नवप्रवर्तन गर्ने प्रयास गर्यौँ ? राज्यको असक्षमता त छँदैछ तर व्यक्तिगत प्रयास, सामाजिक उद्यम, सहकारी प्रणाली वा साना व्यवसायलाई बढावा दिन सकिने सम्भावनाहरू पनि हाम्रै सामुन्ने छन् भन्ने बुझेर हामीले अवसर खोज्नेभन्दा अवसर बनाउने सोच विकास गर्नुपर्ने समय आएको होइन र ?

शिक्षा र मूल्य प्रणाली

नेपालको शिक्षाक्षेत्र पछिल्लो समय गम्भीर आलोचना भोगिरहेको छ। शिक्षालाई ज्ञान, सीप र मानवीय मूल्य प्रदान गर्ने माध्यमभन्दा पनि जागिरको लागि प्रमाणपत्र प्राप्त गर्ने साधनको रूपमा हेरिएको छ। शिक्षाले चेतना, मूल्य र जिम्मेवारीको भावना जागृत गर्नुपर्छ। तर जब पाठ्यक्रम व्यावहारिक नभई रटन्ते हुन्छ, तब शिक्षा प्रेरणाहीन हुन थाल्छ र विद्यार्थीको ध्यान अङ्कमा वा विदेश जाने योजनामा मात्रै सीमित हुन्छ। परिणामस्वरूप शिक्षित बेरोजगारको सङ्ख्या दिनानुदिन बढ्न थाल्छ। त्यो शिक्षाले नैतिकता, सामाजिक उत्तरदायित्व, सिर्जनशीलता वा मानवीय मूल्य प्रणालीलाई आत्मसात् गर्न सक्दैन र परिणामस्वरूप समाज निर्माण असम्भवजस्तै हुन्छ। हामीले आजैदेखि शिक्षाको पुनर्संरचना गरेर सोच, क्षमता र संस्कारमा आधारित बनाउने अभियान थाल्नुपर्छ।

नागरिक चेतना र गफ-संस्कृति

देश बनाउने जिम्मा सरकारको मात्रै होइन नागरिकको पनि हो। तर जब हामी आफ्नै सडकमा फोहोर फाल्छौँ, कार्यालयमा घुस दिन्छौँ, लाञ्छनाको राजनीतिमा रमाउँछौँ र सामाजिक सञ्जालमा नकारात्मकता फैलाउँछौँ भने अब बुझ्न ढिला गर्नुहुँदैन, त्यो कमजोर समाजको सूचक हो। नागरिक नैतिकवान्, चेतनशील र जिम्मेवार नभएसम्म समृद्धि र विकास सम्भव छैन।

विशेषगरी पछिल्लो समय गफले देश हाँक्ने प्रवृत्ति सामाजिक रूपमा बढ्दो छ। चियाको चुस्की र चुरोटको धुवाँसँगै ठूला-ठूला गफ चुट्नेहरू, जसले न त सक्रियताको आग्रह गर्छन् न त समाधानको दिशा नै देखाउँछन्। उनीहरूले त युवाहरूमा “देश त बिग्रिसक्यो, अब केही हुँदैन” भन्ने जस्ता नकारात्मक र निष्क्रिय मानसिकता फैलाइरहेका छन्। सामाजिक रूपले लोकप्रिय देखिने यस्ता गफ-संस्कृति नै नेपालमा बिस्तारै आलस्य, निराशा र उदासीनताको मुख्य कारण बन्दै गइरहेको छ।

सामाजिक सञ्जाल र मानसिकता

सूचना र सञ्चार प्रविधिको व्यापक पहुँचले आज जन-जनको हातमा आवाज पुगेको छ तर यिनै माध्यमहरूमा अहिले नकारात्मकता, गालीगलौज, भ्रम, अफवाह र निराशा झल्किने सामग्री व्याप्त छन्। हामी सकारात्मक प्रेरणा फैलाउनेभन्दा दोष देखाउने मानसिकतामा अल्झिएका छौँ अनि रमाइरहेका छौँ। कुनै राम्रा कार्य भए पनि त्यसलाई उजागर गर्नेभन्दा लज्जास्पद आलोचना गर्ने प्रवृत्ति बढ्दो छ। यस किसिमको सोच बदलेर सकारात्मक भावनाको विकास गर्न सकिएन भने आम मानसिकता नै कमजोर बन्ने खतरा रहन्छ। तसर्थ सम्पूर्ण सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैले चेतनशील, जिम्मेवार र सकारात्मक प्रवृत्ति फैलाउनेतर्फ सचेत हुनुपर्छ।

नेपालको अहिलेको समस्या भनेको केवल शासन प्रणालीको मात्र होइन। हाम्रो सामाजिक संरचना र परिवेश पनि केही हदसम्म जिम्मेवार देखिन्छ। हामी जातका आधारमा, धर्मका आधारमा, राजनीतिक आस्थाका आधारमा तथा क्षेत्रीय पहिचानका आधारमा विभाजित छौँ। सहकार्य, सहअस्तित्व र सामूहिक प्रयासको अभावले गर्दा सानो काममा पनि बाधा आइरहेको हुन्छ। हामी सबै मिलेर हाम्रो देश हामी बनाउँछौँ भन्ने भावनामा उभिन सके मात्र विकसित नेपाल सम्भव छ।

के अब सम्भावना नभएकै हो त ?

पक्कै पनि सम्भावना समाप्त भएको छैन तर संरचनागत राजनीतिक अवरोध भने कायमै छ। परम्परागत सत्ता संरचना अझै बलियो छ र नयाँ शक्तिलाई अनुमोदन गर्न कठिनाइ छ। जेनजी आन्दोलन जुन रूपमा अगाडि बढेको थियो तर त्यसलाई संस्थागत रूप दिन सकेको देखिँदैन किनभने सही नेतृत्व र स्पष्ट एजेन्डाको अभावले आन्दोलनको शक्तिलाई दीर्घकालीन सुधारात्मक मोडेलमा रूपान्तरण गर्न कठिन बनाएको देखिन्छ।

यी र यस्ता चुनौतीका बीच पनि युवा चेतना र लोकतान्त्रिक प्रक्रिया अझै सक्रिय छ, त्यो नै भविष्यको सम्भावनाको ठूलो संकेत हो। यदि युवाशक्ति, निर्मित संगठन, साझा रणनीति र राजनीतिक सहकार्यमार्फत अघि बढ्न सक्यो भने अवश्य पनि देशको भविष्य निर्माण गर्न सक्ने सम्भावना अझै बाँकी रहन्छ। जुन निर्वाचनबाट अनुमोदित जनप्रतिनिधिहरूबाट आशा गर्न सकिन्छ कि ? भन्ने लाग्दालाग्दै पनि पछिल्ला गतिविधि हेर्दा कतै पुनः निराशाको बादल मडारिन थालेको पो हो कि जस्तो लागेको छ।

निष्कर्ष

नेपाल आज बिग्रिएको होइन बरु बनाउने काममा हामी सबै सुस्ताएका छौँ। असक्षम नेतृत्व, अल्मलिएको नागरिक चेतना, अवसरको खोजीमा पलायन युवा र निष्क्रिय आलोचना मात्रै गर्ने सामाजिक प्रवृत्तिले अहिलेको नेपालको परिस्थिति निर्माण भएको हो। के अब सुधार असम्भव नै हो त ? पक्कै पनि होइन, परिवर्तन अवश्य गर्न सकिन्छ तर बनाउने हो भने सोच बदल्नुपर्छ, जिम्मेवारीबोध हुनुपर्छ र व्यक्तिगत, सामाजिक र संस्थागत सबै तहबाट सहकार्यको पहल गर्नुपर्छ।

नेपाल सम्भावनाको देश हो तर सम्भावना केवल भाषणमा सीमित हुनुहुँदैन, व्यवहारमा परिणत हुनुपर्दछ। त्यसका लागि अबको मूलमन्त्र अब दोष दिने होइन, देश बनाउने हुनुपर्छ। जब हामी सबै मिलेर यो मुलुकलाई फेरि चिनाउने इच्छाशक्तिका साथ एक भएर उभिन्छौँ तब मात्रै नेपाल बिग्रिएको होइन, बन्न थालेको देश हुनेछ।

लेखक: दीपक भट्टराई
उप-प्राध्यापक, जनज्योति क्याम्पस, भिमाद, तनहुँ
मोबाइल: ९८५१०३९६४१