उत्तर कोरियालाई आणविक हतियारमुक्त बनाउन अमेरिका, जापान र दक्षिण कोरिया एकमत


टोकियो। उत्तर कोरियाको आणविक हतियार कार्यक्रम अन्त्य गर्न अमेरिका, जापान र दक्षिण कोरियाले आफ्नो साझा प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्। तीनै देशले उत्तर कोरियाको पूर्ण आणविक निःशस्त्रीकरण हुनुपर्ने अडान राखेका छन्।
शुक्रबार अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा आयोजित जी–२० बैठकको अवसरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच यस विषयमा छलफल भएको थियो।
बैठकमा उनीहरूले उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई आर्थिक सहयोग पुग्ने गतिविधि रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिबन्धहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
यसैबीच, आगामी महिना चीनमा हुने एपेक शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता हुन सक्ने चर्चा बढेको छ। ट्रम्पले उत्तर कोरियासँग आणविक वार्ता गर्न आफू तयार रहेको बताउँदै आएका छन्।
तर, उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम स्थायी र अपरिवर्तनीय रहेको दाबी गर्दै आएको छ। रुस र चीनको समर्थन प्राप्त प्योङयाङले पश्चिमा राष्ट्रका प्रतिबन्धले आफ्नो आणविक शक्ति कमजोर पार्न नसक्ने चेतावनीसमेत दिएको छ।
यस परिस्थितिमा सम्भावित अमेरिका–उत्तर कोरिया वार्ता र तीन देशको संयुक्त प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।