नुवाकोटमा बाढीपीडित ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट, भाद्र २०, २०८३ — स्वास्थ्य शिविर

२०८३ भदौ १० गते रसुवा आसपासको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी/हिमपिण्ड (Glacier/Ice Mass) खसाइका कारण ल्हेन्दे खोला–भोटेकोशीमा आएको Flash Flood/Debris Flood बाट प्रभावित नागरिक तथा समुदायहरुको राहतको लागि BIMBA Nepal, Geriatric Society of Nepal र Art of Living Nepal को संयुक्त आयोजनामा मिति भाद्र २०, २०८३ मा, नुवाकोट जिल्लाको विदुर नगरपालिका–३, सिर्खालीस्थित रणभूमनेश्वर विद्यालयको Holding Center मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।

बाढीका कारण अधिकांश प्रभावित ज्येष्ठ नागरिकले नियमित रूपमा सेवन गर्दै आएका औषधि गुमाएकाले उपचार तथा औषधिको निरन्तरतामा समस्या उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै, विशेषगरी दीर्घरोग भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो।

शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञसहितको स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा उपलब्ध गराइएको थियो। साथै, अर्थोपेडिक्स, मुटु परीक्षण, दन्त सेवा, अस्टियोप्याथी, Geriatric सेवा, Trauma Relief, तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श लगायतका स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।

ज्येष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरबाट २०० जनाले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा प्राप्त गर्नुभयो, जसमा १०१ (महिला ४८/ पुरुष ५३) जना ज्येष्ठ नागरिक हुनुहुन्छ।

बाढीपछिको मानसिक तनाव र अन्य मनोसामाजिक समस्यालाई ध्यानमा राख्दै तनाव व्यवस्थापन एवं मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिएकोमा ६० जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यहरुले सेवा लिनु भयो।

शिविरमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको थियो।

स्वास्थ्य शिविर सञ्चालनका क्रममा नेपाल एपीएफ अस्पताल, सशस्त्र प्रहरी बल, बलम्बुको सहकार्यमा स्थानीय तहमा खटिनुभएका डाक्टरसहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्नुभयो।

विपद्को समयमा घाउमा मलम र राहत मात्र होइन—पीडितका लागि मानवीय साथ, बाँच्ने हौसला, सहानुभूति र आशाको उज्यालो पनि उत्तिकै आवश्यक हुन्छ।

BIMBA Nepal
Health • Longevity • Service