काठमाडौँ, १७ असोज । नेपालको भाषिक, जातीय तथा सांस्कृतिक विविधतालाई सिर्जनात्मक अभिव्यक्तिमार्फत उजागर गर्ने उद्देश्यले काठमाडौँको टेकुस्थित ऐतिहासिक लक्ष्मीश्वर मन्दिर परिसरमा ‘मातृभाषा कवि गोष्ठी २०८३’ सम्पन्न भएको छ। वर्तमान कविता समूहको आयोजना तथा रातो घर फाउन्डेसन र नेपाल लोक बाजा संग्रहालयको सह–आयोजनामा सम्पन्न गोष्ठीमा नेपालका विभिन्न मातृभाषामा सिर्जना गरिएका कविता वाचन गरिए। मन्दिर परिसरमा फरक–फरक भाषा, लवज, संस्कृति र जीवनानुभूतिका कविता एकपछि अर्को गुञ्जिँदा कार्यक्रमले नेपालको बहुभाषिक पहिचानको जीवन्त चित्र प्रस्तुत गरेको थियो।
कार्यक्रमको सुरुआतमा वर्तमान कविता समूहका संस्थापक सदस्य तथा कवि विश्व सिग्देलले स्वागत मन्तव्य राख्नुभयो। उहाँले मातृभाषा सञ्चारको माध्यम मात्र नभई समुदायको मौलिक ज्ञान, सभ्यता, स्मृति र अस्तित्वसँग जोडिएको विषय भएको बताउँदै भन्नुभयो, “विभिन्न मातृभाषाको संरक्षण, प्रवर्द्धन र ती भाषामा सिर्जित साहित्यलाई राष्ट्रिय मूलधारमा ल्याउन यस्ता बहुभाषिक साहित्यिक गोष्ठीले सेतुको काम गर्छन्।”उहाँले नेपालमा बोलिने प्रत्येक मातृभाषाले आफ्नै संसार, इतिहास र सांस्कृतिक स्मृति बोकेको उल्लेख गर्दै भाषिक विविधतालाई विभाजनको आधार नभई सहअस्तित्व र राष्ट्रिय एकताको शक्ति बनाउनुपर्नेमा जोड दिनुभयो।
गोष्ठीमा ९ भन्दा बढी मातृभाषामा मौलिक कविता प्रस्तुत गरिएका थिए। नेपाल भाषा, खस भाषा, तामाङ, अवधी, नेपाली, केवरत, मैथिली, दोलखाली नेपाल भाषा तथा संस्कृतलगायत भाषामा प्रस्तुत कविताले नेपाली समाजको बहुआयामिक जीवन, संस्कृति, प्रेम, प्रकृति, सामाजिक यथार्थ र पहिचानका विविध पक्षलाई उजागर गरेका थिए।कार्यक्रममा ३८ जना कवि सहभागी रहेको आयोजकले जनाएको छ। वरिष्ठदेखि नयाँ पुस्तासम्मका कविहरूले आफ्नै मातृभाषामा कविता वाचन गरेपछि कार्यक्रम पुस्तान्तरण र भाषिक सहअस्तित्वको साझा मञ्चसमेत बनेको थियो। कविता वाचन गर्नेहरूमा राम विनय, जगत वाशिष्ठ, कुसु क्षेत्री, रहेना नकःर्मी मानन्धर, वैरागी जेठा, वसन्त नकःर्मी, सजना गोले, डा. अनिता श्रेष्ठ, शिव आचार्य, सुनिल पुरी, हंसा कुर्मी, रजनीमिला, लुमन्ती चित्रकार, ओम श्रेष्ठ, हेमन्ती केवरत, कृष्ण बाउसे, बालकृष्ण श्रेष्ठ, सुवास मिश्र, राधेश्याम महर्जन, चतुर्भुज केवरत, नरोत्तम श्रेष्ठ, लक्ष्मी माली, धीर कुमार श्रेष्ठ, रमी प्रिया, ईश्वर थोकर, अमर कुमार प्रधान, सावित्री श्रेष्ठ, रामप्रसाद कँडेल र नवराज रायमाझी लगायतका कवि रहेका थिए।
विभिन्न भाषामा प्रस्तुत कविताले केवल भाषिक विविधताको प्रदर्शन नगरी प्रत्येक समुदायको आफ्नै जीवनदृष्टि, अनुभूति र सांस्कृतिक चेतनालाई समेत अभिव्यक्त गरेको थियो। सहभागी साहित्यकारहरूका अनुसार एउटै मञ्चमा अनेक मातृभाषाका कविता सुन्न पाउनु नेपाली साहित्यमा बहुभाषिक अभ्यासलाई अझ सशक्त बनाउने महत्वपूर्ण प्रयास हो।नेपालमा मातृभाषा र बहुभाषिक साहित्यलाई केन्द्रमा राखेर पछिल्ला वर्षहरूमा भइरहेका साहित्यिक गतिविधिले पनि भाषिक विविधताको संरक्षणलाई साहित्यिक अभियानसँग जोड्दै आएका छन्। यसअघि पनि विभिन्न मातृभाषाका कविहरूलाई एउटै मञ्चमा ल्याएर कविता वाचन तथा भाषिक संरक्षणका विषयमा बहस हुँदै आएका छन्। टेकुको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजना गरिएको यस कार्यक्रमले साहित्यलाई संग्रहालय, मन्दिर, संस्कृति र समुदायसँग जोड्ने प्रयाससमेत गरेको देखिएको थियो। यसले मातृभाषाको साहित्य कक्षाकोठा वा पुस्तकमा सीमित नभई सार्वजनिक सांस्कृतिक जीवनको अभिन्न हिस्सा बन्न सक्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै रातो घर फाउन्डेसनका तर्फबाट कवि स्नेह सायमीले धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले फरक–फरक भाषा, भूगोल र संस्कृतिका स्रष्टाहरूलाई एउटै थलोमा ल्याउने यस्ता कार्यक्रमले मातृभाषा साहित्यको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने बताउनुभयो।
आयोजकका अनुसार आगामी दिनमा पनि समकालीन सामाजिक विषय, मातृभाषा, संस्कृति, पर्यावरण, मानवता तथा पहिचानका प्रश्नलाई केन्द्रमा राख्दै साहित्यिक गतिविधिलाई निरन्तरता दिइनेछ।बहुभाषिक नेपालमा हरेक भाषा एउटा छुट्टै आवाज मात्र होइन, एउटा छुट्टै संसार हो। टेकुमा सम्पन्न मातृभाषा कवि गोष्ठीले ती संसारका आवाजलाई एउटै साहित्यिक आकाशमुनि जोड्ने प्रयास गरेको छ।कार्यक्रमका सञ्चालक तथा वर्तमान कविता समूहका संस्थापक सदस्य कवि चन्द्रबहादुर लामाले कविता केवल शब्द र सौन्दर्यको अभिव्यक्ति मात्र नभई कुनै समुदायको भूगोल, इतिहास, संस्कृति र पहिचानको सजीव दस्तावेजसमेत भएको धारणा राख्दै सुन्दर ढङ्गले कार्यक्रम संचालन गर्नुभएको थियो ।
