नेकपा (संयुक्त) को ७८औँ स्थापना दिवस सम्पन्न

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को ७८औँ स्थापना दिवस आज भदौ ३० गते काठमाडौंको मैतीदेवीस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भुसालले जनताको अधिकार, सामाजिक न्याय र राष्ट्रिय समृद्धिका विषयमा पार्टीको धारणा स्पष्ट पार्नुभयो। साथै, आगामी दिनमा आउन सक्ने राजनीतिक तथा सामाजिक चुनौतीप्रति सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा नेकपा (संयुक्त) का जनवर्गीय संगठन प्रमुख तथा सचिवालय सदस्य मधु बिसीले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभयो। उहाँले जनताको अधिकारको संरक्षण, सामाजिक न्याय र राष्ट्रिय समृद्धिका मुद्दालाई प्राथमिकतामा राख्दै आगामी चुनौतीको सामना गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।

केन्द्रीय सल्लाहकार कृष्णप्रसाद भण्डारीले पार्टी निर्माण तथा संगठन सुदृढीकरणका विषयमा धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, सचिवालय सदस्य केदारचन्द्र शर्माले पार्टीको नेतृत्व र संगठनमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई युवामैत्री ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

सचिवालय सदस्य लक्ष्मी शाहले पार्टीलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन फेडेरेसन (NTUF) का अध्यक्ष कृष्णबहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता काठमाडौं जिल्ला अध्यक्ष आशा महर्जनले गर्नुभएको थियो। केन्द्रीय सचिवालय सदस्य मोहनदेव मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा NTUF का अध्यक्ष राजकुमार पासवान, राष्ट्रिय दलित केन्द्रका कार्यवाहक अध्यक्ष उपेन्द्र छत्कुली तथा ललितपुर जिल्ला अध्यक्ष मिना साहलगायतले पनि आफ्ना धारणा राख्नुभएको थियो।

त्यसैगरी, संगठन विभाग प्रमुख विजय पौडेल, सचिवालय सदस्य तथा पूर्वकृषि मन्त्री हरि पराजुली, सचिवालय सदस्य धनबहादुर कार्की, पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरू र केन्द्रीय आयोजक कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमा जनसांस्कृतिक केन्द्रका अध्यक्ष तथा जनगायक ऋषि अधिकारीले देश भक्तिको गीत गाएर कार्यक्रमको शोभा बढाउनु भएको थियो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनताका अधिकार, सामाजिक न्याय र राष्ट्रिय समृद्धिका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।