मधु पाठकको ‘अग्नि–आलाप’ सार्वजनिक

काठमाडौँ। कवि तथा सञ्चारकर्मी मधु पाठकको नयाँ कवितासङ्ग्रह ‘अग्नि–आलाप’ राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, डा. नवराज लम्साल, पवन आलोक, डा. ज्ञानु अधिकारी र कवि पाठकले संयुक्त रूपमा कृति लोकार्पण गरे।

कार्यक्रममा प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमले विचार, भावना र अनुभूतिको समन्वयबाट प्रभावकारी कविता जन्मिने बताए। उनले पाठकको मस्तिष्क र हृदयलाई एकसाथ स्पर्श गर्न सक्ने कविता नै अर्थपूर्ण हुने धारणा राखे। पाठकका कवितामा संवेदना, प्रेम, करुणा, मातृत्व र अनुभूतिका पक्षहरू बलियो रूपमा आएको उनको भनाइ थियो।

कृतिमाथि टिप्पणी गर्दै कवि डा. नवराज लम्सालले कविता लेखनलाई गम्भीर सिर्जनात्मक कर्मका रूपमा व्याख्या गरे। उनका अनुसार अनुभूतिलाई बिम्बमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गर्ने क्षमता कविमा हुनुपर्छ। उनले ‘अग्नि–आलाप’का कवितामा विषय, संरचना, संगठन र अनुभूतिको विविधता देखिएको बताए। मधु पाठकका कविताका प्रत्येक हरफमा छुट्टै काव्यिक सम्भावना भेटिने उनको टिप्पणी थियो।

त्यस्तै, डा. ज्ञानु अधिकारीले पाठकका कविताले पाठकलाई सोच्न र संवेदित हुन प्रेरित गर्ने बताइन्। उनका अनुसार कविले प्राकृतिक बिम्बमार्फत अमूर्त भावनालाई कवितामा प्रस्तुत गरेका छन्। शीर्षकहरू परिचित भए पनि कवितामा प्रस्तुत दृष्टिकोण नयाँ र अनुभूतिपरक रहेको उनले उल्लेख गरिन्। प्रेम र संवेदनाको उपस्थिति पाठकका कवितामा उल्लेख्य रहेको अधिकारीको भनाइ थियो।

कार्यक्रममा पवन आलोक र ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य राखेका थिए भने कवि मधु पाठकले आफ्ना सिर्जनात्मक अनुभव तथा कविताले बोकेको भावभूमिबारे धारणा व्यक्त गरे।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘अग्नि–आलाप’को लोकार्पणसँगै नेपाली कविता र साहित्यका विविध पक्षमा अर्थपूर्ण बहस भएको बताए। उनले साहित्यको इतिहासलाई सम्मान गर्दै वर्तमान सिर्जनालाई पनि त्यसकै परिवेशमा हेर्नुपर्ने धारणा राखे। पाठकका कविता समकालीन नेपाली कविताका सन्दर्भमा उल्लेखनीय रहेको उनको भनाइ थियो।

कार्यक्रममा कवि सुष्मा आचार्य ‘अंशु’, मणि लोहनी र ठाकुर बेलबासेले ‘अग्नि–आलाप’भित्रका कविता वाचन गरेका थिए।

नेपाल स्रष्टा समाजका सचिव प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा समाजकी सदस्य शान्तिमाया गिरीले स्वागत मन्तव्य राखेकी थिइन्। ‘अग्नि–आलाप’ नेपाल स्रष्टा समाजले प्रकाशन गरेको हो।