काठमाडौँ — नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसको अवसरमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो।
मंगलबार काठमाडौँको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदान गर्नुका साथै भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोगसमेत गरेका थिए।
संघका अध्यक्ष केसीले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउनुका साथै अस्पतालमा हुने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रम चलचित्र विकास बोर्डको सहकार्य तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। दागान अर्गानिक टीले विशेष सहयोग गरेको कार्यक्रममा चलचित्र अक्षरा टिम र ओम प्रिन्टको समेत सहयोग रहेको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले कला र मनोरञ्जनको क्षेत्रमा सक्रिय कलाकारहरूले सामाजिक सेवामा समेत आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमकी प्रमुख अतिथि प्रथम नायिका भुवन चन्दले संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले चलचित्र क्षेत्र र आम नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभयो। त्यस्तै, निवर्तमान अध्यक्ष मोहन निरौलाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने यस्ता सामूहिक पहल सराहनीय रहेको बताउनुभयो। कार्यक्रममा पूर्वअध्यक्षहरू रविन्द्र खड्का, कृष्ण मल्ल र रमेश बुढाथोकी तथा संघका सल्लाहकार एवं चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यस्तै, मानार्थ सदस्यहरू डा. सुवास घिमिरे, डा. श्याम खड्का, द्वन्द्व निर्देशक उदय सिंह बोहरा तथा विशिष्ट चलचित्रकर्मीहरू लय संग्रौला, राजु शाह, मुकुन्द आचार्य, उमेश खड्का, तारा शर्मा, रेजिना उप्रेतीलगायतको बाग्लो उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो भने महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि चन्दले संघका वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल ‘बैरागी’लाई रक्तथैली हस्तान्तरण गरेपछि रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो।
कार्यक्रममा ८६ जना रक्तदाताले रक्तदान गरेका थिए भने करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको आयोजकले जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष केसीले बताउनुभयो।
नेपाल चलचित्र कलाकार संघले स्थापना दिवसलाई यसअघि पनि केवल औपचारिक समारोहमा सीमित नगरी सामाजिक सेवासँग जोडेर मनाउँदै आएको जनाएको छ। कलाकार तथा चलचित्रकर्मी समाजका महत्वपूर्ण प्रतिनिधि भएकाले विपद्का समयमा पीडित समुदायसँग उभिनुपर्ने सन्देश कार्यक्रमले दिएको छ। संघले आगामी दिनमा पनि कलाकार तथा चलचित्रकर्मीको सहभागितामा सामाजिक, मानवीय तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
