कवि कृष्ण बाउसेसँग विद्यार्थीको साहित्यिक साक्षात्कार

काठमाडौं — २०८३ भदौ १६ गते, विश्व साक्षरता दिवसको सन्दर्भमा आयोजित साक्षरता सप्ताहअन्तर्गत संस्कृति इन्टरनेसनल स्कुलका कक्षा ८ का विद्यार्थीहरू र चर्चित कवि तथा बालसाहित्यकार कृष्ण बाउसेबीच प्रेरणादायी साहित्यिक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।
वि.सं. २०१३ असोज ५ गते तेह्रथुममा जन्मनुभएका कवि बाउसे नेपाली साहित्यमा कविता, बालकविता र मुक्तक विधामा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको साहित्यिक व्यक्तित्व हुनुहुन्छ। उहाँका ‘जस्तो उद्घोष गर्छु’, ‘अज्ञात यात्राका पदचिह्नहरू’, ‘देशको बिन्तीपत्र’, ‘नानीको रहर’, ‘माथि माथि चढ्ने हो’, ‘पढ्नै रमाइलो’, ‘हाम्रो चिनारी’, ‘अक्षरका पुतली’, ‘कलम र कापी’ तथा ‘पर्याप्रेमको गुञ्जन’ लगायतका कृतिहरू प्रकाशित छन्। विशेषगरी बालसाहित्य, प्रकृति तथा पर्यावरणका विषयमा उहाँको लेखन उल्लेखनीय मानिन्छ। साक्षात्कारका क्रममा कवि बाउसेले आफ्ना साहित्यिक अनुभव, लेखन यात्रा तथा सिर्जनाका विषयमा विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गर्नुभयो। उहाँले साहित्यले मानिसको सोच, कल्पना र सिर्जनशीलतालाई फराकिलो बनाउने बताउँदै विद्यार्थीहरूलाई नियमित अध्ययन, लेखन र आफ्ना जिज्ञासालाई निरन्तरता दिन प्रेरित गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले साहित्य, लेखन तथा कवि बाउसेका सिर्जनासँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। कवि बाउसेले विद्यार्थीका प्रश्नहरूको उत्तर दिँदै आफ्ना अनुभव र विचार साझा गर्नुभएको थियो। शब्द, सिर्जना र साहित्यको सुन्दर यात्रामार्फत विद्यार्थीहरूको सोच तथा कल्पनालाई नयाँ उचाइतर्फ डोर्‍याउने अवसरका रूपमा कार्यक्रमलाई लिइएको थियो।
कार्यक्रमको अन्त्यमा विद्यालयका सह–प्रधानाध्यापक अमित मन्त्रीले कवि कृष्ण बाउसेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। साहित्य सप्ताहअन्तर्गत आयोजित कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि, पठन संस्कृतिको विकास तथा सिर्जनात्मक सोच अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।