काठमाडौँ — अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२६ को “मानिस, पृथ्वी र समृद्धिका लागि साक्षरता” विषयमा केन्द्रित प्यानल छलफल संस्कृति इन्टरनेसनल स्कुलमा सम्पन्न भएको छ। कक्षा ९ र १० का विद्यार्थीको सहभागितामा आयोजित कार्यक्रममा साक्षरताको बदलिँदो अर्थ, पठन संस्कृतिको महत्व, वातावरणीय चेतना, आर्थिक समृद्धि तथा डिजिटल प्रविधिको जिम्मेवार प्रयोगबारे गहन तथा रोचक छलफल गरिएको थियो। कार्यक्रममा साहित्यकार, व्यवस्थापन विज्ञ तथा सञ्चार व्यवस्थापनका अनुभवी व्यक्तित्व स्नेह सायमी, शिक्षाविद् तथा लेखक निरञ्जन कुँवर र साहित्यकार लुज माथेमा प्यानलिस्टका रूपमा सहभागी थिए।
छलफलको सुरुवात प्यानलिस्टहरूको विद्यार्थी जीवनमा पुस्तक, कथा तथा पात्रहरूले पारेको प्रभावसँग सम्बन्धित व्यक्तिगत तथा रमाइला प्रश्नबाट गरिएको थियो। पाठ्यपुस्तकले परीक्षाका लागि आवश्यक ज्ञान प्रदान गरे पनि पाठ्यपुस्तकबाहिरका पुस्तक, कथा, जीवनी तथा लेखले विद्यार्थीको सोच फराकिलो बनाउने, कल्पनाशक्ति विकास गर्ने र जीवनलाई विभिन्न दृष्टिकोणबाट बुझ्न सहयोग गर्ने विषयमा प्यानलिस्टहरूले आफ्ना अनुभव सुनाए। विशेषगरी स्नेह सायमीले विद्यार्थी भाइबहिनीका भावना, जिज्ञासा र उनीहरूको दैनिक जीवनसँग मेल खाने गरी आफ्ना अनुभव तथा विचार प्रस्तुत गरेका थिए। उनका प्रेरणादायी उत्तरहरूले विद्यार्थीलाई आफ्नै जीवन, अनुभव र सिकाइसँग विषयलाई जोडेर सोच्न प्रेरित गरेको थियो। साहित्य र जीवनबीचको सम्बन्ध, निरन्तर सिकाइ तथा समाजप्रतिको जिम्मेवारीबारे उनले सरल र आत्मीय शैलीमा आफ्ना विचार राखेका थिए।
छलफलका क्रममा साक्षरताको परम्परागत अर्थलाई विस्तार गर्दै आजको समयमा साक्षरता भनेको पढ्न र लेख्न जान्नु मात्र नभई सूचना बुझ्ने, सही र गलत सूचना छुट्याउने, प्रश्न गर्ने, नयाँ कुरा सिक्ने र ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने क्षमतासमेत भएको प्यानलिस्टहरूले बताए। “मानिसका लागि साक्षरता” अन्तर्गत साक्षरताले व्यक्तिलाई आत्मनिर्भर बन्न, आफ्नो विचार व्यक्त गर्न र आफ्नो जीवनसँग सम्बन्धित निर्णय लिन सक्षम बनाउने विषयमा चर्चा भयो। फरक क्षमता, भाषा, पारिवारिक पृष्ठभूमि र रुचि भएका विद्यार्थीलाई समेट्दै सबैका लागि समान सिकाइको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइयो।
त्यस्तै, “पृथ्वीका लागि साक्षरता” अन्तर्गत जलवायु परिवर्तन, प्रदूषण, पानीको संकट तथा वातावरणसँग सम्बन्धित सूचनालाई सही रूपमा बुझ्नु पनि आधुनिक साक्षरताको महत्वपूर्ण हिस्सा भएको बताइयो। सामाजिक सञ्जालमा आउने वातावरणसम्बन्धी सूचनाको स्रोत र विश्वसनीयता जाँचेर मात्र विश्वास गर्नुपर्ने सुझाव प्यानलिस्टहरूले दिए। “समृद्धिका लागि साक्षरता” विषयमा विद्यार्थीले पढाइसँगै सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप, सहकार्य र निरन्तर सिक्ने बानी विकास गर्नुपर्नेमा जोड दिइयो। बदलिँदो प्रविधि, उद्यमशीलता र रोजगारीका नयाँ क्षेत्रसँग आफूलाई अनुकूल बनाउन सिकाइलाई जीवनभरको प्रक्रियाका रूपमा लिनुपर्ने धारणा पनि व्यक्त गरियो।
कार्यक्रममा डिजिटल साक्षरता पनि महत्वपूर्ण विषयका रूपमा उठ्यो। मोबाइल, इन्टरनेट तथा एआईजस्ता प्रविधि विद्यार्थीका लागि सिकाइका प्रभावकारी माध्यम बन्न सक्ने भए पनि तिनको प्रयोगमा सन्तुलन आवश्यक रहेको प्यानलिस्टहरूले बताए। प्रविधिमा अत्यधिक निर्भर नभई विद्यार्थीको आफ्नै सोच, सिर्जनशीलता र प्रश्न गर्ने क्षमतालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूको जोड थियो। अन्त्यमा आफ्नो, समाज र पृथ्वीका लागि नयाँ ‘साक्षरता बानी’ सुरु गर्नुपरेमा के गर्ने भन्ने प्रश्नमार्फत विद्यार्थीलाई व्यक्तिगत सिकाइको बानीलाई समाज र वातावरणप्रतिको जिम्मेवारीसँग जोडेर सोच्न प्रेरित गरिएको थियो।
कक्षा ९ र १० का विद्यार्थीहरूले तीनै जना प्यानलिस्टका विचार, अनुभव र उत्तरहरू निकै उत्साह र आनन्दका साथ सुने। प्रश्नोत्तरका क्रममा विद्यार्थीका जिज्ञासा र प्यानलिस्टका अनुभवबीचको संवादले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रमको सहजीकरण सियोना श्रेष्ठ र रिषभ महतले गरेका थिए। रियाना शाक्यले स्वागत मन्तव्य दिएकी थिइन् भने उपप्रधानाध्यापक अमित मन्त्रीले मायाको चिनो प्यानलिस्टहरूलाई अर्पण गरेका थिए। समग्रमा, संस्कृति इन्टरनेसनल स्कुलको सभाहलमा सम्पन्न उक्त प्यानल छलफलले साक्षरता केवल अक्षर चिन्नु वा पढ्न–लेख्न सक्नु मात्र नभई आफूलाई, समाजलाई र संसारलाई बुझ्दै जिम्मेवार, सचेत र सिर्जनशील नागरिक बन्ने क्षमता हो भन्ने महत्वपूर्ण सन्देश दिएको थियो।
