सोह्रौँ लोकसङ्गीत सत्सङ्ग’ सम्पन्न, वरिष्ठ सारङ्गीवादक भरत नेपालीको विशेष प्रस्तुति

काठमाडौँ । नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजनामा नियमित रूपमा सञ्चालन हुँदै आएको ‘लोकसङ्गीत सत्सङ्ग’ (म्युजिकल ज्यामिङ) को सोह्रौँ शृङ्खला भदौ ५ गते शुक्रबार भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको टेकुस्थित लक्ष्मीश्वर महादेव मन्दिर परिसर, गीतागृह मार्गमा रहेको सङ्ग्रहालयमा आयोजित उक्त विशेष साङ्गीतिक समारोहमा कलाकार तथा सङ्गीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली मौलिक संस्कृति र रैथाने बाजाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालको लोकसङ्गीत क्षेत्रमा सुपरिचित लोकसङ्गीत सर्जक, सङ्कलक, म्युजिसियन तथा वरिष्ठ सारङ्गीवादक भरत नेपाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा उहाँले आफ्नो जादुमयी सारङ्गी धुन र मौलिक साङ्गीतिक प्रस्तुति पस्कनुभएको थियो, जसले उपस्थित सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध बनाउनुका साथै शुक्रबारको वातावरणलाई अझ विशेष र अविस्मरणीय बनाएको थियो।

उक्त साङ्गीतिक सत्सङ्गको सञ्चालन ओम भण्डारीले निकै रोचक र व्यवस्थित तरिकाले गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै नेपाली लोकबाजा सङ्ग्रहालयका प्रमुख रामप्रसाद कँडेलले उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। प्रमुख कँडेलले नेपाली लोकसङ्गीत र मौलिक बाजाको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरणका लागि यस्ता कार्यक्रमहरूले कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

समारोहको अवसरमा सङ्ग्रहालयका तर्फबाट कार्यक्रमलाई सदैव निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्दै आउनुभएका आदरणीय रामगोपाल कार्की तथा कुमारी योङहाङ लिम्बूप्रति विशेष हार्दिक धन्यवाद व्यक्त गरिएको थियो। साथै, सङ्ग्रहालय परिवारले कार्यक्रमलाई सभ्य र भव्य बनाउन उपस्थित हुनुभएका सम्पूर्ण नेपाली लोकसङ्गीत प्रेमी, कला तथा संस्कृति प्रेमी, कलाकार, सङ्गीतकर्मी एवं सम्पूर्ण आगन्तुक पाहुनाहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।