एक कालजयी प्राचीन ज्ञान:टिका पौडेल

ऋग्वेद १०.७२: देवोत्पत्तिको रहस्य — असत्‌बाट सत्‌, अदितिबाट देवता र मार्ताण्डसम्म

tpoudel00@gmail.com

ऋषि: बृहस्पति आङ्गिरसः

देवता: विश्वेदेवाः

छन्दः: त्रिष्टुप्

“सृष्टि कसरी आरम्भ भयो? ब्रह्माण्डमा देख्न र अनुभव गर्न सकिने असङ्ख्य देवताहरू कहाँबाट आए? पूर्ण अव्यक्त अस्तित्व कसरी व्यक्त जगत् बन्यो? र, मृत्यु वा विनाश स्वयं सृष्टिको किन आवश्यक अङ्ग बन्यो?” यी प्रश्नहरू आधुनिक विज्ञानका मात्र होइनन्; हजारौँ वर्षअघि वैदिक ऋषिहरूले पनि यी प्रश्नलाई गहिरो दार्शनिक रूपमा सूत्रबद्ध गरेका थिए। ऋग्वेदको दशौँ मण्डलको ७२औँ सूक्त (ऋग्वेद १०.७२) यसै जिज्ञासाको एक अद्भुत काव्यात्मक अभिव्यक्ति हो। यस सूक्तलाई सामान्यतया “देवताहरूको उत्पत्ति” वा “देवोत्पत्ति सूक्त” का रूपमा चिनिन्छ।

वेदको नेपाली अर्थ ज्ञान हुनाले वैदिक ज्ञान संग्रहको दायरा केवल असङ्ख्य ज्ञात–अज्ञात देवताहरू (सूर्य, चन्द्र, तारा, वायु, सृष्टि निर्माण र जीवन निर्माणका सकारात्मक तत्वहरू) को उत्पत्तिकथा वर्णन गर्नुमा सीमित छैन। यसमा अव्यक्तबाट व्यक्त अस्तित्वको उदय, विश्वको सर्वदिशात्मक विस्तार, अदिति र दक्षको रहस्यमय पारस्परिक सम्बन्ध, देवशक्तिको प्रादुर्भाव, प्राचीन सलिल, लुकेको सूर्य, तथा अमृत र मृत्युको सहअस्तित्वजस्ता गम्भीर दार्शनिक विषयहरू समेटिएका छन्। यस सूक्तले ‘देव’ अर्थात् सकारात्मक ऊर्जा वा सृष्टि निर्माणका शक्तिहरूको उत्पत्तिका सम्बन्धमा महत्त्वपूर्ण धारणा बनाउन सहयोग गर्दछ।

प्रश्नबाट आरम्भ हुने सृष्टिदर्शन

सूक्तको पहिलो मन्त्र नै एउटा महत्त्वपूर्ण उद्घोषबाट सुरु हुन्छः

देवानां नु वयं जाना प्र वोचाम विपन्यया।
उक्थेषु शस्यमानेषु यः पश्यादुत्तरे युगे॥ (१०.७२.१)

“अब हामी देवताहरूको प्रादुर्भाव (उत्पत्तिको ज्ञानलाई) विवेकपूर्वक वर्णन गर्दछौँ, ताकि भविष्यका युगमा यी मन्त्रहरू गाइँदा त्यसलाई बुझ्ने वा महसुस गर्ने व्यक्तिहरू पर्ना हुन सकून्।”

सूक्तकार ऋषि यहाँ केवल कुनै पुरानो कथा सुनाउन बसेका छैनन्। उनी देवताहरूको रहस्यलाई ‘विपन्यया’ अर्थात् सूक्ष्म विचार, विवेक र चिन्तनद्वारा व्यक्त गर्दै भविष्यमा सुव्यवस्थित अध्ययनका लागि आह्वान गर्दछन्। यसले वैदिक ज्ञानको एक महत्त्वपूर्ण विशेषता देखाउँछ: श्रुति → चिन्तन → अनुभूति → अभिव्यक्ति को शृङ्खला अर्थात् सुनेका विषयहरूमा गहन सोच र चिन्तनपश्चात् चिन्तनानुभूति गर्नु अनि तत्पश्चात् मात्र अभिव्यक्ति दिनुपर्छ भन्ने कुरा स्पष्ट पारिएको छ। ज्ञान केवल सुन्ने कुरा होइन; त्यसलाई बुझ्ने, विचार गर्ने र सत्यको खोजी गर्ने प्रक्रिया पनि हो। ऋग्वेद १०.७२ लाई केवल “देवताहरूको जन्मकथा” भन्नु यसको दार्शनिक गहिराइलाई सीमित गर्नु हो। यो मूलतः सृष्टि र अस्तित्वमाथिको अनुसन्धान हो।

असत्‌बाट सत्‌: अव्यक्तबाट व्यक्त

दोस्रो मन्त्रमा नै सूक्त सृष्टिको मूल रहस्यतर्फ प्रवेश गर्छ:

ब्रह्मणस्पतिर् … देवानां पूर्व्ये युगेऽसतः सदजायत॥ (१०.७२.२)

ब्रह्मणस्पति विश्वकर्मा (प्राचीन इन्जिनियर) ले धातुलाई तताएर आकार दिएझैँ सृष्टिको प्रकट रूपलाई आकार दिए। जसरी लोहारले धातुलाई विभिन्न औजारमा परिणत गर्छ, त्यसरी नै देवताहरूको जन्म हुनुपूर्वको प्राचीन युगमा ‘असत्’ (अव्यक्त) बाट ‘सत्’ (व्यक्त) उत्पन्न भयो। यस सूक्तको अर्को पद “असतः सदजायत” अर्थात् “असत्‌बाट सत् उत्पन्न भयो” समग्र विवेचनाको मुख्य पद हो।

यहाँ ‘असत्’ लाई “पूर्ण शून्यता (Vacuum)” भनेर बुझ्नु उचित हुँदैन। यसलाई अव्यक्त, अप्रकट, वा पूर्ण रूप नलिएको, आकार र रङ नभएको रूपहीन अवस्थाका रूपमा बुझ्न सकिन्छ। लोहारले कच्चा धातुलाई ताप, प्रहार र कौशलद्वारा निश्चित आकार दिएझैँ यहाँ सृष्टि केवल पदार्थको यान्त्रिक उत्पादन होइन; यो त आकार दिने एक व्यवस्थित सृजनात्मक प्रक्रिया हो।

अस्तित्व आएपछि यसको फैलावट

तेस्रो मन्त्रले सृष्टिको अर्को चरण देखाउँछ:

देवानां युगे प्रथमेऽसतः सदजायत।
तदाशा अन्वजायन्त तदुत्तानपदस्परि॥ (१०.७२.३)

जब घोर अन्धकारमय असत् (अस्तित्वविहीन अवस्था) बाट सत् (अस्तित्व) प्रकट हुन्छ, तत्पश्चात् ‘आशा’ हरू उत्पन्न हुन्छन्। वैदिक प्रयोगमा ‘आशा’ ले दिशा, प्रदेश वा ऊर्जा र चेतनाको स्थानिक विस्तारलाई जनाउँछ। अस्तित्व प्रकट भएपछि त्यसलाई स्थान तथा चैतन्य ऊर्जाको आवश्यकता पर्छ।

यहाँ एउटा दार्शनिक क्रम देखिन्छ—यस अर्थमा सृष्टि केवल पदार्थको मात्र उत्पत्ति होइन; स्थान, दिशा र एकअर्कामा अन्तर्निहित सम्बन्धको उत्पत्ति पनि हो। यहाँ ‘तदुत्तानपदस्परि’ ले अस्तित्व सम्पूर्ण दिशामा विस्तार फैलियो भन्ने कुरालाई स्पष्ट गरेको छ।

भौतिक फैलावट र अदिति–दक्षको पारस्परिक सम्बन्ध

भूर्जज्ञ उत्तानपदो भुव आशा अजायन्त।
अदितिर् दक्षो अजायत दक्षाद् अदितिः परि॥ (१०.७२.४)

ऋग्वेदको यो चौथो मन्त्र सृष्टिको रहस्य खोल्ने सबैभन्दा तर्कपूर्ण अंशमध्ये एक हो। यस मन्त्रले सृष्टिको क्रम र यसको पारस्परिक सम्बन्ध गहिरो ढङ्गले प्रस्ट्याउँछ।

सामान्यतया आमाबाट छोरा जन्मन्छ, तर यहाँ अदितिबाट दक्षको जन्म भयो र दक्षबाट फेरि अदिति प्रकट भइन् भनिएको छ। यसले सृष्टिको चक्रीय (Cyclical) र पारस्परिक स्वरूपलाई प्रस्ट्याउँछ।

परस्पर आश्रित अदिति (अनन्त/असीमित शक्ति) बाट दक्ष (सीमित/दक्षता, बुद्धि वा सृजनात्मक शक्ति) को जन्म हुन्छ, र फेरि त्यही दक्षको सामर्थ्यबाट अनन्तता (अदिति) को विस्तार वा पुनःसृष्टि हुन्छ।

भौतिक विज्ञानको दृष्टिबाट हेर्दा यसले सृष्टिको चक्रमा हुने महाविस्फोट (Big Bang), निरन्तरको रूपान्तरण तथा फैलावटको प्रक्रियालाई झल्काउँछ। सृष्टिको सनातन चक्रमा कारण र कार्य एकअर्कामा कसरी समाहित छन् र कसरी एकअर्काबाट प्रकट हुन्छन् भन्ने सृष्टिको वैदिक सनातन चक्रदर्शनको गहिरो सिद्धान्तलाई उजागर गर्छ।

मूल र अभिव्यक्तकर्ता एकअर्काबाट पूर्णतः अलग छैनन्; ब्रह्माण्ड पूर्ण छ, पूर्णबाट नै उत्पत्ति हुन्छ र पूर्णमै सबै समाहित हुन्छ। आदिकालदेखि नै यी क्रियाहरूको निरन्तरता छ।

दैवी शक्तिहरूको प्रकटीकरण

अदितिर् ह्यजनिष्ट दक्ष या दुहितास्तव।
तां देवा अन्वजायन्त भद्रा अमृतबन्धवः॥ (१०.७२.५)

यो मन्त्र सृष्टिको ऋग्वेदीय दर्शनको एक अत्यन्त महत्त्वपूर्ण र उच्चतम उचाइमा पुगेको सूत्र हो। यसमा भनिएको छ कि जब अनन्तताको प्रतीक अदिति र दक्षको त्यो पारस्परिक चक्र पूरा हुन्छ, तब त्यसबाट दैवी शक्तिहरूको प्रकटीकरण हुन्छ।

अनन्त ब्रह्माण्डको चेतना (अदिति) बाट ‘देवाः’ अर्थात् देवताहरू वा प्रकाशका प्रतीक शक्तिहरूको जन्म हुन्छ। यी देवताहरूलाई ‘अमृतबन्धवः’ अर्थात् अमृतसँग सम्बन्धित वा अमरताका बन्धु भनिएको छ, किनकि तिनीहरू भौतिक सीमाभन्दा माथि रहेका सनातन र शाश्वत प्रकृतिहरू हुन्।

यसले भौतिक रूपमा देखिएको संसारभन्दा पर त्यो चेतना र दैवी ऊर्जाको फैलावटलाई देखाउँछ, जुन सधैँ अजर–अमर र कल्याणकारी छ। अनन्त ब्रह्माण्ड (अदिति) र त्यसको कार्यकुशलता वा प्रज्ञा (दक्ष) एकअर्काबाट निरन्तर प्रकट भइरहन्छन् र एकअर्काका कारण बनिरहन्छन्।

यसलाई केवल देवताहरू अमर व्यक्ति हुन् भनेर बुझ्नु आवश्यक छैन। वैदिक प्रतीकवादमा देवता प्रकृति, विश्वव्यवस्थाका वा अस्तित्वका दैवी/ब्रह्माण्डीय शक्तिहरूका रूपमा बुझिन्छन्। यहाँ सृष्टि कुनै सरल रेखीय प्रक्रिया होइन; यो एक अन्तरसम्बन्धित ब्रह्माण्डीय प्रक्रिया हो।

ब्रह्माण्डीय नृत्य (Cosmic Dance) र चेतनाको प्रकटीकरण

यद्देवा अदः सलिलं सुसंरब्धा अतिष्ठित।
अत्रा वो नृत्यतामिव तीव्रो रेणुरपायत॥ (१०.७२.६)

यसले स्थिर सम्भावनाबाट गतिशील विश्व जन्मन्छ भन्ने भावार्थ उजागर गर्दछ। वैज्ञानिक रूपमा पनि मन्त्रले सृष्टिको प्रक्रियालाई एक अद्भुत ब्रह्माण्डीय नृत्य (Cosmic Dance) का रूपमा चित्रण गर्दछ।

जब ब्रह्माण्डको सृष्टि हुनुपूर्व जताततै अनन्त जल वा ऊर्जाको महासागर (सलिल) मात्र थियो, तब दैवी शक्तिहरू वा प्रकाशका प्रतीक देवताहरू त्यसमा पूर्ण ऊर्जा र एकाग्रताका साथ क्रियाशील भए।

यहाँ देवताहरूको सृजनात्मक क्रियाशीलतालाई नृत्यसँग तुलना गरिएको छ। जसरी नर्तकले नाच्दा धुलो उड्छ, त्यसरी नै ती दैवी शक्तिहरूको तीव्र गति र कम्पनबाट सृष्टिका परमाणुहरू, कणहरू र ऊर्जाको उथलपुथल भयो, जसले भौतिक संसारको रूप लिन सुरु गर्‍यो।

मन्त्रले प्रस्ट रूपमा ब्रह्माण्डको सुरुवात एउटा तीव्र ऊर्जाको कम्पन, गति र कणहरूको उथलपुथलबाट भएको मानेको छ। ऋग्वेदको यो मन्त्रले सृष्टिलाई जड पदार्थको मात्र नभई एउटा सचेत, गतिशील र ऊर्जावान् ‘नृत्य’ का रूपमा चित्रण गरेको छ।

यज्ञदेव तथा लुकेको सूर्यको प्रकटीकरण

यद्देवा यतयो यथा भुवनान्यपन्वत।
अत्र समुद्र आ गूढं सूर्यं अजभरन्त॥ (१०.७२.७)

यो मन्त्र सृष्टिको प्रक्रियाको एक अत्यन्त सुन्दर र गहन निष्कर्ष हो। जसरी समर्पित यत्नवान् साधकहरू आफ्नो कठोर साधना र एकाग्रताले सबै कुरालाई सञ्चिति र जीवन्त बनाउँछन्, त्यसरी नै दैवी शक्तिहरू (देवताहरू) ले आफ्नो सचेत प्रयासद्वारा सम्पूर्ण ब्रह्माण्डलाई पोषण दिए र ऊर्जावान् बनाए।

यसको उत्तरार्धमा भनिएको छ कि त्यही अनन्त र रहस्यमय महासागर (समुद्र/अन्धकार) को गर्भमा लुकेर रहेको वा गुप्त रहेको सूर्य (चेतना, ज्ञान र प्रकाशको स्रोत) लाई उनीहरूले बाहिर प्रकट गरे।

यो मन्त्रले सृष्टि मात्र होइन, बलियो जडताको गर्भबाट चेतना, ज्ञान र ऊर्जा (सूर्य) को प्रकटीकरण कसरी भयो भन्ने कुरालाई उजागर गर्छ। यसले अन्धकार वा सम्भावनाको समुद्रबाट प्रकाश र जीवन बाहिर निस्कने वैदिक सृष्टितत्त्वको रहस्यलाई पूर्णता दिन्छ। सृष्टि, निर्माण र विनाशको निरन्तरताको चक्रीय प्रक्रिया यसै चलिरहन्छ।

मार्ताण्ड र नश्वर जगतको सिर्जना

अष्टौ पुत्रासो अदितेर् ये जातासृतन्वः परि
देवानुपप्रैत् सप्तभिः परा मार्ताण्डमासृजत॥ (१०.७२.८)

यो ऋग्वेदको सबैभन्दा रहस्यमय र पुराणहरूको ‘आदित्य’ (सूर्यहरूको) उत्पत्तितर्फ संकेत गर्ने मन्त्र हो।

अदितिबाट कुल आठवटा पुत्रहरू जन्मिएका थिए। वैदिक परम्परामा पछि गएर यी आदित्यहरूको सङ्ख्या १२ मानिन थाल्यो, तर यहाँ सुरुमा आठको उल्लेख छ। अदितिले आफ्ना आठ पुत्रहरूमध्ये सातजनालाई देवताहरूको समूहमा सामेल गराइन् (सप्त–आदित्य), तर आठौँ पुत्र मार्ताण्ड भने पृथक् राखिन् वा सृष्टिको चक्रका लागि बाहिर पठाइन्।

‘मार्ताण्ड’ अर्थात् मृत अण्डाबाट जन्मने, जसलाई पछि विवस्वान् वा सूर्यको रूपमा चिनिन्छ। यही मार्ताण्डलाई भौतिक ब्रह्माण्ड र दृश्य सूर्यसँग जोडेर हेर्ने मान्यता पाइन्छ। यसले अनन्त चेतनाबाट विभिन्न लोक र ग्रह–नक्षत्रहरूको विविधता र प्रकटीकरणको प्रक्रियालाई बुझाउँछ।

सप्त पुत्र र मार्ताण्डको पुनरागमन

सप्तभिः पुत्रैरदितिरुप प्रैत् पूर्व्यं युगम्।
प्रजायै मृत्यवे त्वत् पुनर्मार्ताण्डमाभरत्॥ (१०.७२.९)

यो मन्त्रले अघिल्लो मन्त्रको निरन्तरतालाई पूर्णता दिन्छ र सृष्टिको चक्रलाई स्पष्ट पार्छ।

आदिकालमा अदितिले आफ्ना सातवटा पुत्रहरूलाई लिएर अमर र दैवी लोकहरूको व्यवस्था गरिन्। तर जब यो भौतिक, नश्वर र परिवर्तनशील संसार (मर्त्यलोक) को सिर्जना गर्नुपर्ने भयो, तब उनैले अघिल्लो चरणमा अलग राखिएको वा पन्छाइएको मार्ताण्ड (आठौँ पुत्र) लाई पुनः फर्काएर ल्याइन्।

यही मार्ताण्ड (जसलाई पछि सूर्य वा भौतिक ब्रह्माण्डको आधार मानियो) को माध्यमबाट यो नश्वर जगतमा जीवन, उष्मा, ऋतुहरू र प्रकृतिको चक्र सुरु भयो।

यसप्रकार, ऋग्वेदको यो सृष्टि–सूक्तको अन्तिम मन्त्रले अनन्त चेतना (अदिति) बाट अमर लोकको व्यवस्था र नश्वर भौतिक जगत् (मार्ताण्ड/सूर्य) को प्रकटीकरण कसरी भयो भन्ने महान् दार्शनिक निष्कर्षलाई पूर्णता प्रदान गरेको छ।

ऋग्वेदको यो सूक्त केवल देवताहरूको जन्मकथा मात्र होइन; यो अव्यक्तबाट व्यक्तको उदय, कारण र कार्यको चक्रीय सम्बन्ध, ऊर्जाको कम्पन, तथा अनन्त अमर चेतना र नश्वर भौतिक जगत्बीचको सहअस्तित्वलाई उजागर गर्ने एक गहिरो वैदिक ब्रह्माण्ड विज्ञान (Cosmology) हो।