बारपाक–सुलिकोट गाउँपालिकाद्वारा आयोजित, मुटु फाउन्डेसन नेपाल, मनोज एसोसिएसन फ्रान्स र ग्रेनोबल विश्वविद्यालय (फ्रान्स) मा अध्ययनरत मेडिकल विद्यार्थीहरूको नमस्ते प्रोजेक्ट XI को प्रायोजन तथा ॐ समाज डेन्टल हस्पिटल, काठमाडौं को प्राविधिक सहयोगमा गोरखाको बारपाक स्वास्थ्य चौकीमा सञ्चालन भएको दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविरमा पहिलो दिन १७७ जना र दोस्रो दिन २०० जना गरी जम्मा ३७७ जनाले निःशुल्क दन्त उपचार सेवा लिएका थिए। बिहानैदेखि स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दुर्गम क्षेत्रमा विशेषज्ञ दन्त स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा दन्त परीक्षण, परामर्श, दाँत सफा गर्ने (स्केलिङ), दाँत भर्ने (फिलिङ), दाँत निकाल्ने तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
आयोजकका अनुसार शिविरमा १७१ जनालाई दाँत सफा गर्ने (स्केलिङ), २३२ जनालाई दाँत निकाल्ने (एक्स्ट्र्याक्सन) र १७१ जनालाई दाँत भर्ने (फिलिङ) सेवा प्रदान गरिएको थियो। एउटै सेवाग्राहीले आवश्यकता अनुसार एकभन्दा बढी सेवा पनि लिएका थिए।
शिविरमा डा. हरिशंकर यादव, डा. सुदेसा अधिकारी, सहायक जुनु पण्डित, सहायक सिर्जना सुनुवार तथा ॐ समाज डेन्टल हस्पिटलका बोर्ड सदस्य एवं सामाजिक कार्यकर्ता–पत्रकार राजन थापाले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए।
फ्रान्सबाट नेपाल आएका चिकित्सा विद्यार्थीहरू इभा, जोए, गया, लियोनार्ड, रोबिन र जानको सक्रिय सहभागिताले शिविरलाई अझ विशेष बनाएको थियो। उनीहरूले नेपाली स्वास्थ्यकर्मीहरूसँग काँधमा काँध मिलाएर सेवाग्राहीहरूको व्यवस्थापन र सेवामा सहयोग गरेका थिए। हजारौं किलोमिटर टाढाबाट दुर्गम गाउँका नागरिकहरूको मुस्कानका लागि उनीहरूले गरेको निस्वार्थ सेवाले स्थानीयवासीलाई प्रभावित बनाएको थियो।
७७ वर्षीय थिअमबहादुर घलेले आफू लामो समयदेखि दाँतको समस्याबाट पीडित रहेको तर विभिन्न अस्पतालमा अपेक्षित उपचार नपाएको बताए। उनले करिब एक वर्षअघि ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा उल्लेखनीय राहत महसुस गरेको अनुभव सुनाउँदै गाउँमै यस्तो विशेषज्ञ सेवा उपलब्ध गराएकोमा आयोजकप्रति कृतज्ञता व्यक्त गरे।
बारपाक–सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले यस्ता स्वास्थ्य शिविरहरूले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै स्थानीय सरकारले यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्यसम्बन्धी जनचेतना र उपचार सेवाको ठूलो आवश्यकता रहेको बताउँदै यस्ता शिविरहरूले समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
बारपाक स्वास्थ्य चौकीका प्रमुख केशव गिरीले शिविर अत्यन्त प्रभावकारी भएको उल्लेख गर्दै स्थानीय नागरिकहरूले सहज रूपमा विशेषज्ञ दन्त सेवा प्राप्त गर्न सकेको बताए।
बारपाक स्वास्थ्य चौकीकी अहेब बन्दना पूर्वेले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्थानीयवासी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहयोग र समन्वयका कारण शिविर सफलतापूर्वक सम्पन्न भएको बताइन्। शिविरभरि महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवाग्राहीको दर्ता, व्यवस्थापन, सहजीकरण तथा दन्त स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले भावुक हुँदै भने, “बारपाकका नागरिकहरूले सामान्य दाँतको उपचारका लागि पनि टाढाटाढासम्म धाउनुपर्ने अवस्था र त्यसबाट भोग्नुपरेको पीडा तथा आर्थिक भार देख्दा निकै दुःख लाग्यो। स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्छ भन्ने विश्वासका साथ हामीले यो अभियानलाई निरन्तरता दिएका छौं। नागरिकहरूको मुस्कान नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। आगामी दिनहरूमा पनि मुटु फाउन्डेसन यस्ता मानवीय सेवामा सधैँ साथ रहनेछ।”
बारपाक–सुलिकोट गाउँपालिका–१ का वडा अध्यक्ष धनबहादुर घलेले शिविरको प्रशंसा गर्दै दुर्गम बस्तीका नागरिकलाई विशेषज्ञ दन्त सेवा उपलब्ध गराउनु अत्यन्त सराहनीय कार्य भएको बताए। आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालनका लागि आवश्यक समन्वय र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
शिविरमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूले विशेषज्ञ चिकित्सकबाट सहज, गुणस्तरीय र निःशुल्क दन्त उपचार सेवा प्राप्त गरेका छन्। स्थानीयवासीले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिन आग्रह गर्दै उपचारसँगै दन्त स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा पनि शिविरले उल्लेखनीय योगदान पुर्याएको बताएका छन्।
नेपाल र फ्रान्सबीचको मानवीय सहकार्यको उत्कृष्ट उदाहरण बनेको यस शिविरले दुर्गम गाउँका नागरिकहरूको अनुहारमा मुस्कान ल्याएको छ। यसले सेवा र मानवताको कुनै सीमा हुँदैन भन्ने सन्देश पनि दिएको छ।
यसअघि पनि मुटु फाउन्डेसन नेपालले यही महिनामा लमजुङको दोर्दी गाउँपालिकास्थित दोर्दी आधारभूत अस्पतालमा आँखा उपचार केन्द्र स्थापना गरेको थियो।
