काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी अगस्टको अन्तिम साता चीन भ्रमणमा जाने तयारीमा रहेको काठमाडौं पोस्टले दाबी गरेको छ। पोस्टका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को निमन्त्रणामा लामिछानेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ जाने तयारी भइरहेको छ।
काठमाडौं पोस्टका अनुसार रास्वपाले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाटको व्यवस्था मिलाइदिन चिनियाँ पक्षसँग आग्रह गरेको छ। यद्यपि हालसम्म सीसँगको भेट निश्चित भइसकेको छैन।
समाचारअनुसार लामिछानेले चीनका उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका अधिकारीहरूसँग भने भेट गर्ने कार्यतालिका रहेको छ।
काठमाडौं पोस्टका अनुसार यसअघि जुन महिनामा भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकरलगायत शीर्ष नेताहरूसँग भेट गरेका थिए। सोही स्तरको उच्च राजनीतिक भेट चीन भ्रमणमा पनि होस् भन्ने रास्वपाको चाहना रहेको स्रोतलाई उद्धृत गर्दै पोस्टले जनाएको छ।
समाचारमा उल्लेख भएअनुसार सुरुमा जुलाईको तेस्रो साता तय गरिएको चीन भ्रमण सी चिनफिङसँगको भेट सुनिश्चित नभएका कारण र केही आन्तरिक कारणले स्थगित गरिएको थियो। अहिले भने अगस्टको अन्तिम साताका लागि तयारी भइरहेको बताइएको छ।
